अपाङ्गता भएका आदिवासी जनजाति महिलाका सवाललाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड
काठमाडौं, २३ असार । अपांगता भएका आदिवासी जनजाति महिला र बालिकाका सवाललाई मुलधारका सञ्चार माध्यममा मुलप्रवाहीकरण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ–नेपाल (निडवान) र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को आयोजनामा मंगलबार राजधानीमा अपांगता भएका आदिवासी जनजाति महिलाका मुद्दाका विषयमा आयोजित अन्तरसंवाद कार्यक्रममा उक्त विषयमा जोड दिइएको हो । मुलधारका सञ्चार […]
About अपाङ्गता भएका आदिवासी जनजाति महिलाका सवाललाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड
काठमाडौं, २३ असार ।
अपांगता भएका आदिवासी जनजाति महिला र बालिकाका सवाललाई मुलधारका सञ्चार माध्यममा मुलप्रवाहीकरण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ–नेपाल (निडवान) र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को आयोजनामा मंगलबार राजधानीमा अपांगता भएका आदिवासी जनजाति महिलाका मुद्दाका विषयमा आयोजित अन्तरसंवाद कार्यक्रममा उक्त विषयमा जोड दिइएको हो ।

मुलधारका सञ्चार माध्यमहरुमा अपांगता भएका आदिवासी जनजाति महिला र बालिकाका आवाजलाई मुलप्रवाहिकरण गर्न पत्रकार महिलाको भूमिका विषयक कार्यक्रममा निडवानकी अध्यक्ष प्रतिमा गुरुङले लैंगिकता, अपांगता र सीमान्तकृत समुदाय तथा व्यक्तिका सवाललाई मूलधारका सञ्चारमाध्यममा समावेशीकरण र मुलप्रवाहीकरण कसरी गर्न सकिन्छ र त्यसमा के के चुनौती छन् भन्ने विषयलाई उजागर गर्नु कार्यक्रमको उद्देश्य रहेको बताइन् ।

समावेशी र समतामुलक समाज निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने भएकाले अपांगता भएका आदिवासी जनजाति महिलाका यस्ता संवेदनशील सवालहरुलाई कसरी अधिकारमुखी अवधारणाबाट व्यक्तिको मर्यादित जीवनसम्म जोड्न सकिन्छ भन्नेमा सामूहिक रुपमा पहल गर्नुपर्नेमा उनले जोड दिइन् । पत्रकारले समाचार लेख्ने क्रममा प्रयोग गर्ने शब्दहरुदेखि तस्बिरलगायतलाई कसरी यस वर्गमैत्री बनाउने भन्ने विषयमा पनि सचेत हुन उनले आग्रह गरिन् ।

कार्यक्रममा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को तर्फबाट प्रस्तुति दिँदै संस्थाकी अध्यक्ष रामकला खड्काले मुलधारका सञ्चार माध्यमले आफ्नो सञ्चार गृहको जनशक्ति र नेतृत्व तहमा सबै वर्ग र लिंगको समानुपातिक प्रतिनिधित्व गराउने, समाचार र कार्यक्रमहरुमा सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकता दिने र सञ्चार संस्थाले आफ्नै ‘समावेशी सञ्चार निर्देशिका’ बनाएर लागु गराउनुपर्ने जनाइन् ।
त्यसैगरी कार्यक्रममा पत्रकारितामा अपांगता तथा अपांगता भित्रको पनि अन्तरछेदीय विषयलाई पत्रकारहरुले कसरी ध्यान दिने भन्ने बारेमा निडवानका प्राविधिक सल्लाहकार कृष्ण गहतराजले प्रस्तुति गरेका थिए । उनले जसको जीवन्त भोगाईलाइ समाचारमा त्यसैलाई केन्द्रित गर्दै उसैको आवाज जस्ताको तस्तै प्रकाशन तथा प्रसारण गर्नुपर्ने बताए । अपांगता भएका महिला त्यसमा पनि आदिवासी जनजाति महिलालाई पनि पत्रकारितामा ल्याउनुपर्ने उनले सुझाव दिए ।

पत्रकारले जति नै मिडिया कन्टेन बनाए पनि जुनसुकै किसिमका अपांगता भएका व्यक्तिले पनि त्यसलाई पढ्न, हेर्न, बुझ्न सकेन र त्यो सूचनामा पहुँचयुक्त नहुने र त्यस खालको कन्टेनको कुनै अर्थ नहुने हुँदा पत्रकार महिलाहरुले यस विषयमा ध्यान दिनुपर्ने सुझाव गहतराजले दिए । अपांगताको सवाललाई मिडियाले दयामुखी अवधारणाले वस्तुकरण वा अनावश्यक बढाइचढाई मात्र नगरेर अधिकारको दृष्टिकोणबाट र हरेक विषयलाई अन्तरक्षदिय दृष्टिकोणबाट हेर्न उनले सुझाव दिएका छन् ।

निडवानकी महासचिव श्रुती कुमालले सञ्चालन गरेको कार्यक्रममा उपस्थिति विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाले आफूले अपांगता भएका व्यक्तिहरुको अनुभव र भोगाइ तथा अपांगता तथा अपांगता भएका महिलाहरुको सवालमा आ-आफुले लेखेका समाचार तथा आलेखका बारेमा अनुभव सुनाएका थिए ।
कतिपय अवस्थामा आफूहरुले अपांगतामैत्री, महिलामैत्री र आदिवासी जनजातिमैत्री शब्दहरुको प्रयोग गरेर निकै संवेदनशील ढंगमा कुराकानी गरेर स्टोरी लेखन वा कार्यक्रम तयार पारे पनि डेस्क सम्पादक वा सम्पादकको तहबाट राम्रो बनाउने नाममा उल्टै बिगारिदिने अभ्यास रहेकाले सम्पादकहरुका लागि पनि यस्ता विषयमा तालिम तथा सचेतना कार्यक्रम आवश्यक रहेको सहभागी पत्रकारहरुको भनाइ थियो ।